युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाको स्वीकृति
अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले हवाई आक्रमण तीव्र बनाइरहेका बेला युक्रेनको रक्षाका लागि यी क्षेप्यास्त्र अत्यन्त आवश्यक मानिएका छन् ।
तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती क्षेप्यास्त्र युक्रेन आइपुग्न ‘धेरै वर्ष’ लाग्न सक्ने चेतावनी दिएका छन् ।अमेरिकी विदेश मन्त्रालयका अनुसार उन्नत प्रविधियुक्त पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर (१ अर्ब ६० करोड पाउन्ड) हुनेछ । यसको सम्पूर्ण खर्च युरोप र क्यानडाका सहयोगी राष्ट्रहरूले व्यहोर्नेछन् ।
शुक्रबार राति जेलेन्स्कीले अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र छिटो उपलब्ध गराउन पुनः आग्रह गरे । रुसका घातक ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिएको एक मात्र हतियार प्याट्रियट भएको उनको भनाइ छ ।अमेरिकाले रुसबाट डिजेल खरिद गर्ने सम्झौताअन्तर्गत रुसमाथिका प्रतिबन्ध खुकुलो बनाएपछि यसै महिनाको सुरुमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विवाद भएको थियो । त्यस क्रममा ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनमा नयाँ नेता चयन गर्ने समय आएको बताएका थिए ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै उसले क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग कब्जा गरिसकेको थियो ।
अक्टोबर २० मा ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही कम भएको थियो ।
शुक्रबार जारी विज्ञप्तिमा अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित बिक्रीले युरोपमा राजनीतिक तथा आर्थिक स्थायित्वको पक्षमा रहेको साझेदार राष्ट्रको सुरक्षा सुधार गर्ने र अमेरिकाको विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई सहयोग पुर्याउने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले यो खरिदको रकम जर्मनी, क्यानडा र नर्वेबाट प्राप्त अनुदान, जम्पस्टार्ट कार्यक्रम तथा युरोपेली संघको युक्रेन सहयोग ऋणबाट प्राप्त राष्ट्रिय कोषमार्फत भुक्तानी गर्नेछ ।’
यस सम्झौताको मुख्य ठेकेदार अमेरिकी कम्पनी लकहिड मार्टिन हुने पनि मन्त्रालयले जनाएको छ । यो बिक्रीमा अमेरिकी सरकारको कुनै पनि रकम संलग्न नहुने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, जी–२० का विदेशमन्त्रीहरूको बैठकमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभको उपस्थितिको विरोध गर्दै युरोपेली कूटनीतिज्ञहरूले आधिकारिक तस्बिर खिच्ने क्रममा उभिन अस्वीकार गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आतिथ्यमा अमेरिकाको एटलान्टामा बैठक भइरहेको छ ।
बैठकका क्रममा बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले लाभरोभलाई सम्बोधन गर्दै भने, ‘म रुसी विदेशमन्त्रीलाई स्पष्ट रूपमा भन्न चाहन्छु—यो युद्धको आक्रमणकारी को हो भन्ने कुरा हामी सबैलाई थाहा छ ।’
उनले रुस सरकारमाथि युक्रेनमा निर्दोष नागरिकको हत्या गरेको आरोपसमेत लगाए ।
यसै साताको सुरुमा जेलेन्स्कीले अत्यावश्यक क्षेप्यास्त्र आपूर्तिका लागि अमेरिकाले स्वीकृति दिन करिब एक महिना लगाएको बताएका थिए । उनका अनुसार युक्रेनसँग ती क्षेप्यास्त्रको मौज्दात निकै कम हुँदै गएको छ ।
शुक्रबार राति सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अमेरिकी घोषणाको स्वागत गरे पनि युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र ‘अहिले नै’ आवश्यक रहेको बताएका छन् ।
जाडोयाम नजिकिँदै गर्दा रुसले युक्रेनका महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको उनको भनाइ छ । पछिल्लो दुई सातामा युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनालाई लक्षित गरी रुसले ३० भन्दा बढी आक्रमण गरेको उनले बताएका छन् ।
युक्रेनलाई यी इन्टरसेप्टर क्षेप्यास्त्र अत्यन्त आवश्यक भए पनि विश्वभर यसको अभाव छ । इरानसँगको युद्धमा अमेरिकाले समेत यी क्षेप्यास्त्र प्रयोग गरेकाले अभाव थप बढेको हो ।
प्याट्रियट क्षेप्यास्त्र उत्पादनको समयतालिका कस्तो हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । तर, यो सम्झौतामा पहिल्यै उत्पादन गरिएका क्षेप्यास्त्र नभई नयाँ उत्पादन गरिने क्षेप्यास्त्र समावेश रहेको बुझिएको छ । त्यसैले युक्रेनले तत्कालै ती क्षेप्यास्त्र प्राप्त गर्ने सम्भावना कम छ ।
प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्न लामो समय लाग्छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले वर्षमा करिब ६०० वटा मात्रै यस्ता क्षेप्यास्त्र उत्पादन गर्छ ।





प्रतिकृया दिनुहोस