आजदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

आज (कात्तिक १६ गते)देखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ। सरकारको निर्णयअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय नयाँ समयअनुसार सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्दै आएका थिए।

हिउँदको समयमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो।

यसैबीच, सरकारी कार्यालय सातामा पाँच दिन मात्रै सञ्चालन हुनेछन्। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारले सुरुमा दुई दिन बिदा दिने निर्णय गरेको भए पनि त्यसलाई निरन्तरता दिँदै आएको छ।

प्रतिकृया दिनुहोस
↑