नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क लाग्ने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५) देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै विभिन्न सवारीसाधनका लागि शुल्कदर निर्धारण गरेको हो ।
आयोजनाका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आइतबारदेखि शुल्क संकलन गरिनेछ । नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क तोकिएको छ ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।
मल्टी एक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तथा बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।





प्रतिकृया दिनुहोस