नेपालमै बनेको ‘यात्री पीटू’लाई प्रवर्द्धन गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरको प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन्।

काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’को उत्पादन प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार सहयोग गर्न तयार रहेको बताएका हुन्।

‘यात्री पीटू’ नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद र गौरवको विषय भएको उल्लेख गर्दै उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढ्न आग्रह गरे।

नेपालले आफ्नै डिजाइन र प्रविधिमार्फत विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण गर्नु ऐतिहासिक उपलब्धि भएको बताउँदै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउनेतर्फ ध्यान दिनुपर्ने बताए।

उनले नेपालमै सकेसम्म धेरै काम गर्न सुझाव दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोगका विषयमा सरकारसँग छलफल गर्न पनि आग्रह गरे। नेपाली इन्जिनियर तथा डिजाइनरहरूको मेहनतको प्रशंसा गर्दै उनले नेपालमा बनेको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।

अर्थमन्त्री वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गर्नु ऐतिहासिक सफलता भएको बताए। नेपालका कठिन पहाडी तथा हिमाली भूभागमा सफल परीक्षण गरिसकेपछि स्कुटरलाई छिट्टै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

कम्पनीका अधिकारीहरूका अनुसार ‘यात्री पीटू’मा डीसी चार्जरको व्यवस्था गरिएको छ। यस्तो विशेषतासहितको विद्युतीय स्कुटर नेपालमै निर्माण हुनु विश्वमै पहिलो भएको कम्पनीको दाबी छ।

श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई बजारमा प्रतिस्पर्धी बनाउन ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने बताए।

केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको ‘यात्री पीटू’को विस्तृत विवरण भने हाल गोप्य राखिएको छ।

नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए। पछि कम्पनीले नेपालको अग्रणी सवारीसाधन बिक्रेता सिप्रदी ट्रेडिङसँग व्यावसायिक सहकार्य गर्दै ‘सिप्रदी यात्री’का रूपमा काम अघि बढाएको हो।

कम्पनीले आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’लाई भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायबाट समेत परीक्षण गराएको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑