गाजाको ७० प्रतिशतभन्दा बढी भूभाग इजरायली नियन्त्रणमा
गाजाको ७० प्रतिशतभन्दा बढी भूभाग इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धमा परेको छ। यसका कारण प्यालेस्टिनी नागरिकको पहुँच सीमित भएको छ भने आवास तथा आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र कुल भूभागको करिब १५ प्रतिशतमा मात्रै खुम्चिएको छ। मानव अधिकारका लागि गाजा केन्द्रले यस्तो जानकारी दिएको हो।
केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ विस्तार गर्दै लगेको छ। साथै, गोलाबारी, गोली प्रहार तथा भवन र अन्य संरचना भत्काउने कार्यले प्यालेस्टिनी नागरिकलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाएको छ।
गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ। तर, युद्धका कारण ध्वस्त भएका क्षेत्र र आधारभूत सेवाको अभावका कारण आवास तथा आश्रयका लागि उपलब्ध जमिन निकै सीमित भएको केन्द्रले जनाएको छ।
पटकपटकको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएका प्रतिबन्धले नागरिकको कठिनाइ थप बढाएको छ। यसले विस्थापित नागरिकलाई सुरक्षित रूपमा आफ्नो घर फर्कनसमेत अवरोध पुर्याएको केन्द्रको भनाइ छ।
केन्द्रले यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घनसम्बन्धी चिन्ता उत्पन्न गरेको बताएको छ। उक्त धाराले सीमित परिस्थितिबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती स्थानान्तरण गर्न निषेध गर्छ।
केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई इजरायली सेनाको नियन्त्रण विस्तार रोक्न, नागरिकको सुरक्षा गर्न तथा गाजाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। साथै, विस्थापित प्यालेस्टिनी नागरिकलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने वातावरण सुनिश्चित गर्न पनि आह्वान गरेको छ।





प्रतिकृया दिनुहोस