तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण अन्य ३२ जना घाइते भएका चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा रहेको नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।भूकम्पका कारण ३ सयभन्दा बढी घरहरू ढालेका छन् भने प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ।

समुद्र सतहबाट करिब ४,८०० मिटरको उचाइमा रहेका दुर्गम गाउँ भूकम्पबाट बढी प्रभावित भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।

सन् २०२३ मा छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा १२० जनाको मृत्यु भएपछिको यो सबैभन्दा घातक भूकम्प हो।

प्रतिकृया दिनुहोस
↑