ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्।
पिगोटका अनुसार ट्रम्प प्रशासनले अमेरिकी इतिहासमा अन्य कुनै पनि प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको छ। सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता भिसा रद्द गर्ने क्रम निरन्तर बढिरहेको छ। गत अगस्ट १० सम्म रद्द गरिएका भिसाको संख्या १ लाख ७५ हजारभन्दा बढी थियो। पछिल्लो तथ्यांकअनुसार त्यसयता भिसा रद्द गर्ने क्रम थप तीव्र भएको रोयटर्सले जनाएको छ।
ट्रम्प प्रशासनले अमेरिकी भिसा लिएर आएका विदेशी नागरिकले कानुन उल्लंघन गर्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधि गरेमा कडा कारबाही गरिने बताउँदै आएको छ। प्रशासनले आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई आन्तरिक सुरक्षा सुदृढ गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
तर मानवअधिकारका पक्षधरहरूले प्रशासनका पछिल्ला नीतिले उचित कानुनी प्रक्रियाको अधिकार र अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको आरोप लगाएका छन्। विशेषगरी जातीय अल्पसंख्यक समुदायमाथि विभेदपूर्ण निगरानी र कारबाही भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएका घटनाको पनि मानवअधिकारवादीहरूले आलोचना गरेका छन्। त्यस्तै, अमेरिकी दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने विदेशी नागरिकको भिसा रद्द गरिएपछि पनि विवाद उत्पन्न भएको थियो।
यसैबीच, ट्रम्प प्रशासनले आप्रवासी र भिसा आवेदकको सामाजिक सञ्जाल जाँचलाई कडा बनाएको छ। केही कार्य भिसामा उच्च शुल्क लगाइएपछि कानुनी रूपमा अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकसमेत प्रभावित भएको भन्दै आलोचना भइरहेको छ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए। तर उनको प्रशासनले लागू गरेका पछिल्ला नीतिले कानुनी प्रक्रियामार्फत अमेरिका जान चाहने विदेशी नागरिकलाई समेत असर पारेको भन्दै आलोचना हुँदै आएको छ।





प्रतिकृया दिनुहोस