कोप–३१ मा हिमाल र समुद्रको मुद्दा सँगै उठाउने नेपालको तयारी

नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्यालाई एउटै पर्यावरणीय प्रणालीसँग जोडेर उठाउने भएको छ।

कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्यामा आयोजना हुने सम्मेलनमा नेपालले हिमाली क्षेत्रको जलवायु सङ्कटलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार हालै आयोजित प्रि–कोप बैठकमा नेपालले हिमाली मुलुकहरू पनि जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको विषय स्थापित गर्न सफल भएको छ। हिमनदी पग्लिँदा समुद्री सतह बढ्ने भएकाले हिमालको संरक्षणले टापु राष्ट्रहरूको अस्तित्व जोगाउनसमेत सहयोग पुग्ने नेपालको धारणा छ।

नेपालले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीलाई जलवायु सङ्कटको उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘हानि तथा नोक्सानी कोष’बाट २० मिलियन अमेरिकी डलर सहायता माग गरेको छ। विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि सम्मेलनअघि नै सहयोगको घोषणा गराउन सरकारले पहल गरिरहेको मन्त्री खनालले बताए।

कोप–३१ मा नेपालले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता र कमजोर मुलुकका लागि अनुदानमा आधारित जलवायु वित्तको मुद्दा पनि उठाउनेछ। सम्मेलनमा नेपालले प्याभिलियन स्थापना गरी भोटेकोशी, मेलम्ची र थामे बाढीका दृश्य प्रदर्शन गर्ने तयारी गरेको छ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भन्ने निर्णय भने हुन बाँकी छ। यसबारे मन्त्रिपरिषद्ले आवश्यक तयारीपछि औपचारिक निर्णय गर्नेछ।

प्रतिकृया दिनुहोस
↑