दशैंका लागि तातोपानी नाका भोलिदेखि तीन दिन खुल्ने
दशैंका समयमा अत्यावश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउन नेपाल–चीन सीमामा रहेको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रह स्वीकार गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
निर्णयअनुसार अक्टोबर १८ देखि २० अर्थात् कात्तिक १ देखि ३ गतेसम्म नाका सञ्चालन हुनेछ। उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।
दशैंका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउने उद्देश्यले सरकारले नाका खुलाउन पहल गरेको हो। नाका सञ्चालनमा आएपछि नेपाल–चीन व्यापारिक आवागमन सहज हुनुका साथै चाडपर्वका समयमा वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि भदौ १५ गतेदेखि चीनले सुरक्षा तथा भौगोलिक जोखिमलाई कारण देखाउँदै तातोपानी नाका बन्द गरेको थियो।





प्रतिकृया दिनुहोस