दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाको अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयले बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो। त्यसका लागि पर्याप्त स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्था गरी ड्युटी रोस्टर तयार गर्न र आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा तथा सघन उपचार सेवासहितका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न भनिएको छ।

त्यस्तै, आकस्मिक अवस्थामा तत्काल उपचार उपलब्ध गराउन आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्न मन्त्रालयले निर्देशन दिएको छ। दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र कुनै पनि अवस्थामा अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिनसमेत आग्रह गरिएको छ।

सेवा प्रवाहका क्रममा देखिने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। उक्त व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा अनिवार्य रूपमा पठाउनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निर्देशनमा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै दसैँ बिदाभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न भनेको छ।

प्रतिकृया दिनुहोस
↑