विवादास्पद अडियो प्रकरणमा सुनारमाथि रास्वपाको छानबिन, सार्वजनिक कार्यक्रममा रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादास्पद टेलिफोन अडियो सार्वजनिक भएपछि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ ।

रास्वपाले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उल्लेख छ ।

सांसद सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील विषयका रूपमा लिइएको उल्लेख छ ।

रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा नलिने स्पष्ट पारेको छ । साथै, महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको जनाएको छ ।

पार्टीले सम्बन्धित राज्य निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै कानुनभन्दा माथि कोही पनि नहुने लोकतान्त्रिक मान्यतामा आफू दृढ रहेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
↑