बेपत्ता नागरिकलाई ४५ दिनमै मृत घोषणा गर्न कानुन संशोधन
सरकारले प्राकृतिक विपद्मा परी बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन कायम गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न तीनवटा ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए ।
सरकारले भूमि, वन र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो । त्यसमध्ये विपद्सम्बन्धी अध्यादेशमा प्राकृतिक विपद्मा परी बेपत्ता भएका नागरिकको कानुनी अवस्थासम्बन्धी व्यवस्था संशोधन गर्न लागिएको छ ।
हालको कानुनी व्यवस्थाअनुसार बेपत्ता भएका व्यक्तिलाई १२ वर्षपछि मात्र मृत घोषणा गर्न सकिने प्रावधान छ । भोटेकोशी बाढीलगायत पछिल्ला प्राकृतिक विपद्का घटनालाई ध्यानमा राख्दै उक्त अवधि घटाएर करिब ४५ दिन कायम गर्न लागिएको प्रवक्ता पोखरेलले बताए ।
उनका अनुसार यो व्यवस्था हालका बाढीपीडितका लागि मात्र नभई भविष्यमा हुने प्राकृतिक विपद्का घटनामा बेपत्ता हुने सबै नागरिकका हकमा लागू हुनेछ ।
नयाँ व्यवस्थाले विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने सरकारको अपेक्षा छ।


-1791103958.jpeg)


प्रतिकृया दिनुहोस