कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी; महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार खुलातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशी समूहबाट एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्।

खुला उपसभापतिमा चन्द्र भण्डारी ३ हजार ७३५ मतसहित विजयी भए। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे। अन्य प्रतिस्पर्धी गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाए।

समावेशी उपसभापतिमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै जीवन परियारलाई ८७ मतले पराजित गरे। परियारले १ हजार ६५८ मत प्राप्त गर्दा फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए।

खुला महामन्त्रीमा प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी भए। उनी उपसभापति र महामन्त्री पदका उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका छन्।

अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरे। राणा र शर्माबीच ७३ मतको अन्तर रहेको छ।

खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित विजयी भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई २५४ मतले पराजित गरिन्। डिनाले २ हजार ८६४ मत प्राप्त गर्दा अर्की उम्मेदवार रीता खनालले ८०४ मत पाइन्।

यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।

यस महाधिवेशनबाट कांग्रेसले पदाधिकारीको संख्या विस्तार गरेको छ। संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुनेछन्। त्यस्तै, तीन महामन्त्रीमध्ये दुई खुला र एक महिला समूहबाट निर्वाचित हुने व्यवस्था छ।

यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकारसमेत बढाएर २९७ सदस्यीय बनाएको छ। यता, सहमहामन्त्री पदको मतगणना भने जारी रहेको छ।

प्रतिकृया दिनुहोस
↑