आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री,स्थानीय उत्पादनले बजार पाउँदै

दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले ढकमक्क बनेका छन्। तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका ४५ महिला यसबाट आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन्।

दसैँ नजिकिएसँगै महिला समूहका सदस्य फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूमा उत्साह थपिएको छ। स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ।

महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काम सुरु गरिएको हो। पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावना राम्रो रहेको पुष्टि गरेको उनले बताइन्।

“दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ”, उनले भनिन्।

महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले उनीहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्‍याएको गुरुङको भनाइ छ। सामूहिक खेतीबाट श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोग गरेर आम्दानी गर्न सकिएको उनले बताइन्।

फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन र बजार विस्तार गर्न सके महिलाको आम्दानी अझ बढाउन सकिने उनको विश्वास छ। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता पनि हटेको छ। यहाँ उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने गरेको गुरुङले जानकारी दिइन्।

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती हुँदै आएको छ। महिलाको सहभागितामा विस्तार भइरहेको यस खेतीले उनीहरूलाई उत्पादनमूलक काममा जोड्नुका साथै आम्दानीको अवसर सिर्जना गरेको छ।

“फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको छ। यहाँ उत्पादित फूलको बजारमा समस्या छैन”, केसीले भने।

स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएकाले खेतीलाई थप व्यवस्थित बनाउँदै विस्तार गर्न सकिने उनले बताए। महिलाको सक्रिय सहभागितामा अघि बढिरहेको सयपत्री फूलखेतीले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै ग्रामीण महिलाको आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस
↑