प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्ने, जथाभावी गालीगलौज गर्ने र धाकधम्की दिने जस्ता अभद्र व्यवहार गरेका थिए । सोही क्रममा घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवैजना विरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।





प्रतिकृया दिनुहोस