नारायणी नदी नियन्त्रणका लागि पहल गर्न व्यवसायीको माग
चितवनका उद्योगी–व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई आग्रह गरेका छन्।
उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार लामिछानेलाई भेट गरी नदी कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै तत्काल आवश्यक कदम चाल्न ध्यानाकर्षण गराएको हो।
टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायबाट तत्काल प्राविधिक टोली खटाएर नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न माग गरेको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नदीका कारण उत्पन्न जोखिमप्रति गम्भीर हुन लामिछानेको ध्यानाकर्षण गराएको थियो।
व्यवसायीको आग्रहपछि लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययन गराउने र त्यसका आधारमा प्रभावकारी तटबन्धन निर्माण तथा नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गराई आवश्यक काम अघि बढाउने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए।





प्रतिकृया दिनुहोस