युक्रेन छोड्न विदेशी नागरिक र कूटनीतिज्ञलाई रूसको चेतावनी
रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक तथा कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ।
रूसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा किभसहित युक्रेनका विभिन्न सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै आक्रमण जारी राख्ने जनाएको छ। यस्ता आक्रमण युक्रेनी सेनाले रूसका नागरिक तथा पूर्वाधारमाथि गरेका भनिएका ‘आतंकवादी कार्य’को प्रतिक्रियास्वरूप हुने मन्त्रालयको दाबी छ।
रूसले किभका स्थानीय बासिन्दालाई पनि सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन आग्रह गरेको छ। चेतावनी बेवास्ता गर्दा उत्पन्न हुन सक्ने कुनै पनि प्रतिकूल परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने मस्कोले जनाएको छ।
रूसले यसअघि मे २५ मा विदेशी साझेदारलाई पठाएको कूटनीतिक नोटमार्फत पनि यस्तै चेतावनी दिएको थियो। मे २७ मा उपविदेशमन्त्री मिखाइल गालुजिनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँगको ब्रिफिङमा उक्त चेतावनी दोहोर्याएका थिए।
रूसी विदेश मन्त्रालयले अमेरिका, बेलायत, युरोपेली संघका सदस्य राष्ट्र, नर्वे र स्विजरल्याण्डलगायत विभिन्न देशले आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न पटक–पटक आग्रह गर्दै आएको पनि जनाएको छ।
किभमा अझै पनि धेरै विदेशी दूतावास सञ्चालनमा छन् भने विदेशी अधिकारीहरू युक्रेन भ्रमण गरिरहेका छन्। रूसले आफ्नो चेतावनी बेवास्ता गर्नेहरूले जानाजानी आफूलाई जोखिममा पारिरहेको दाबी गरेको छ।
यसैबीच, युक्रेनमा पछिल्ला रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ। किभको नर्दर्न ब्रिजमा क्षति पुगेपछि यातायात प्रभावित भएको छ। दुई दिनयता भएका आक्रमणका कारण डिनिप्रो नदीमाथिका किभका छ सडक पुलमध्ये तीनवटा पूर्ण वा आंशिक रूपमा बन्द भएका छन्।
रूसी विदेश मन्त्रालयले रूसी सशस्त्र बलले किभसहित युक्रेनका अन्य सहरमा ‘ठूला प्रतिशोधात्मक हमला’ जारी राख्ने जनाएको छ।





प्रतिकृया दिनुहोस