तमिलनाडुमा नवजात शिशुलाई सुनको औँठी उपहार

भारतको तमिलनाडु सरकारले सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक नवजात शिशुलाई सुनको औँठी उपहार दिने योजना सुरु गरेको छ।

मुख्यमन्त्री सी. जोसेफ विजयले सोमबार मदुरैस्थित सरकारी राजाजी अस्पतालबाट ‘थाई मामन थंगा मोतिरम’ नामक योजना शुभारम्भ गरेका हुन्। योजनाअन्तर्गत सरकारी स्वास्थ्य संस्थामा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औँठी दिइनेछ। योजना शुभारम्भका क्रममा मुख्यमन्त्री विजयले केही नवजात शिशुलाई आफ्नै हातले औँठी लगाइदिएका थिए।

तमिल भाषामा ‘थाई मामन थंगा मोतिरम’को अर्थ ‘मामाको सुनको औँठी’ हुन्छ। तमिल समाजमा आमाका दाइ वा भाइ अर्थात् मामासँगको सम्बन्धलाई विशेष मानिने भएकाले यही सांस्कृतिक परम्परालाई योजनामार्फत सम्मान गर्न खोजिएको स्वास्थ्य मन्त्री अरुण राजले बताएका छन्।

सरकारी स्वास्थ्य सेवाप्रति विश्वास बढाउने लक्ष्य

तमिलनाडु सरकारका अनुसार योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउनु र अस्पतालमै सुरक्षित प्रसूति गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्नु हो। यसबाट आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार आउने सरकारको अपेक्षा छ।

विपक्षी भारतीय जनता पार्टी (भाजपा)ले योजनाको स्वागत गरे पनि पोषण र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताएको छ। भाजपा नेतृ तमिलिसाई सौन्दर्यराजनले सुनको औँठी वितरणमा खर्च हुने रकम अस्पतालमा आवश्यक सुविधा, चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधार सुधारमा समेत लगानी गर्नुपर्ने बताएकी छन्।

भारतका सरकारी अस्पतालमा अत्यधिक भीड, सीमित शय्या, स्वास्थ्यकर्मीको अभाव, लामो प्रतीक्षा र कमजोर पूर्वाधारजस्ता समस्या रहेको बताइन्छ। नवजात शिशुको उपचार कक्षमा आगलागीजस्ता घटनासमेत सार्वजनिक हुँदै आएका छन्।

यही पृष्ठभूमिमा तमिलनाडु सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने परिवारलाई प्रोत्साहित गर्न सुनको औँठी दिने योजना अघि सारेको हो। योजनाले सरकारी अस्पतालमा प्रसूति गराउने दर र स्वास्थ्य सेवाप्रतिको नागरिकको विश्वासमा कस्तो प्रभाव पार्छ भन्ने भने कार्यान्वयनपछि स्पष्ट हुनेछ।

प्रतिकृया दिनुहोस
↑