ककपिटमा आक्रमण, घाइते पाइलटले जोगाए १७४ यात्रु
फ्लाई दुबईको दुबई–तेल अभिभ उडानमा ककपिटभित्र दुई पाइलटबीच भएको गम्भीर घटनापछि भारतीय क्याप्टेन स्मित मच्छार चर्चामा आएका छन्।
फ्लाई दुबईको एफजेड–१०७३ उडानमा १७४ जना सवार थिए। उडानका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएपछि विमानको उचाइसमेत तीव्र रूपमा घटेको थियो। घटनापछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको थियो।
प्रारम्भिक विवरणअनुसार सहपाइलटले क्याप्टेन मच्छारमाथि धारिलो हतियारले आक्रमण गरेका थिए। घाइते अवस्थामा पनि मच्छारले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु तथा चालक दलका सदस्यले ककपिटमा प्रवेश गरी कथित आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ।
घटनापछि मच्छारलाई उपचारका लागि तबुकस्थित अस्पताल लगिएको थियो। उनको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।
को हुन् स्मित मच्छार?
भारतीय सञ्चारमाध्यमका अनुसार मच्छार भारतको महाराष्ट्रस्थित मुम्बईका अनुभवी व्यावसायिक पाइलट हुन्। उनले सन् २०११ मा स्पाइसजेटबाट आफ्नो उड्डयन करिअर सुरु गरेका थिए। करिब ११ वर्ष स्पाइसजेटमा काम गर्दा उनी सिनियर क्याप्टेन तथा लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत पुगेका थिए।
सन् २०२२ मा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा आबद्ध भएका थिए। सार्वजनिक व्यावसायिक प्रोफाइलअनुसार उनले बोइङ–७३७ सिरिजका विमानमा करिब ९ हजार ७५० घण्टा उडान अनुभव हासिल गरेका छन्।
नेतान्याहूसहित नेताहरूको प्रशंसा
घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मच्छारको साहसको प्रशंसा गरेका छन्। उनले गम्भीर अवस्थामा पनि प्रतिकार गर्दै ककपिटको ढोका खोल्न सफल भएको र त्यसबाट यात्रु तथा चालक दलका सदस्यलाई हस्तक्षेप गर्ने अवसर मिलेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनामा मच्छारको भूमिकाको प्रशंसा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उता, घटनामा संलग्न भनिएका सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन्। घटनाको वास्तविक कारण, आक्रमणको उद्देश्य र ककपिटभित्र भएको सम्पूर्ण गतिविधिबारे अनुसन्धान जारी रहेकाले प्रारम्भिक विवरणलाई अन्तिम निष्कर्ष मान्न नहुने अधिकारीहरूले बताएका छन्।





प्रतिकृया दिनुहोस