परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका आक्रमण रोक्ने सर्तमा युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियारसमेत प्रयोग गर्न सकिने चेतावनी दिएका छन्।

बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा बोल्दै पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि आक्रमण नगर्ने प्रस्तावलाई अस्वीकार गरेका हुन्। उक्त प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सेप्टेम्बर २२ मा भएको भेटपछि अघि सारिएको थियो।

पुटिनले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको स्वीकार गर्दै युक्रेनी आक्रमणका कारण रुसी तेल प्रशोधन क्षेत्रमा असर परेको दाबी गरे। उनले रुस वार्तामार्फत युद्ध अन्त्य गर्न इच्छुक रहेको र युद्धपछि युक्रेनलाई तटस्थ राष्ट्रका रूपमा हेर्न चाहेको पनि बताए।

कालिनिनग्रादमाथि खतरा भए परमाणु हतियार प्रयोग गर्ने चेतावनी

पोल्यान्ड र लिथुआनियाबीच रहेको रुसी भूभाग कालिनिनग्रादलाई अलग पार्ने वा त्यसमाथि प्रत्यक्ष आक्रमण गर्ने प्रयास भए रुसले आफ्नो सम्पूर्ण हतियार प्रयोग गर्ने पुटिनले चेतावनी दिए। त्यसमा परमाणु हतियारसमेत समावेश हुने उनको भनाइ छ।

यो भनाइ नेटोले रुसको कूटनीतिक नोटबारे सार्वजनिक गरेको विवरणपछि आएको हो। उक्त नोटमा कालिनिनग्रादलाई रुसबाट अलग पार्ने प्रयास भए परमाणु हतियार प्रयोग गर्न सकिने चेतावनी दिइएको थियो। नेटो महासचिव मार्क रुट्टेले भने यस्तो परमाणु धम्कीलाई अनुपयुक्त बताएका छन्।

पुटिनले प्रतिशोधात्मक कदम बढ्दै गएमा द्वन्द्व ‘फर्कन नसकिने घातक विन्दु’तर्फ पुग्न सक्ने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस
↑