दुई दशकपछि इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता हुँदै

काठमाडौं । अमेरिकाले इराकमा रहेको आफ्नो अन्तिम सैन्य आधारबाट बुधबारसम्म सबै सेना फिर्ता गर्ने भएको छ। दुई दशकभन्दा लामो इराक युद्धमा ४ हजार ५०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको थियो।

सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सम्झौताअनुसार डोनाल्ड ट्रम्प प्रशासनले इराकबाट अमेरिकी सेना फिर्ता गर्न लागेको हो। इरानसँग तनाव र द्वन्द्व जारी रहेका बेला अमेरिकी सेना फिर्ता हुन लागेकाले यसलाई रणनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

इराकी सुरक्षा विश्लेषकहरूका अनुसार अमेरिकी सैन्य उपस्थिति हट्दा इरान समर्थित समूहहरूको प्रभाव बढ्न सक्ने जोखिम छ। इरान समर्थित शिया लडाकु समूहहरूले भने अमेरिकी सेनाको फिर्तीलाई आफ्नो विजयका रूपमा व्याख्या गरेका छन्।

इराकी नागरिकको ठूलो हिस्साले विदेशी सेना हटेको विषयलाई सकारात्मक रूपमा लिए पनि केही वर्गले अमेरिकी नेतृत्वको गठबन्धन सेना हटेपछि उत्पन्न हुन सक्ने सुरक्षा शून्यताप्रति चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको सत्ता हटाउन इराकमा सैन्य हस्तक्षेप गरेको थियो। सन् २०११ मा अमेरिकी सेना फिर्ता हुन थाले पनि सन् २०१४ पछि इस्लामिक स्टेटविरुद्धको अभियानका क्रममा अमेरिकी सैन्य उपस्थिति पुनः बढेको थियो।

अमेरिकी सेना फिर्तासँगै इस्लामिक स्टेटका निष्क्रिय लडाकु पुनः सक्रिय हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ। इराकमा अझै आईएसका स्लिपर सेलहरू रहेको र अमेरिकी गुप्तचर, सैन्य तथा ड्रोन सहयोग घट्दा उनीहरूलाई पुनर्गठनको अवसर मिल्न सक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ।

अर्कोतर्फ, इरानले अमेरिकी सेना फिर्तालाई आफ्नो क्षेत्रीय प्रभावका लागि सकारात्मक घटनाका रूपमा प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस
↑