अमेरिकालाई पेजेस्कियानको जवाफ– ‘हामी घुँडा टेकेका छैनौँ’
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी सैन्य कारबाहीको आलोचना गरेका छन्। उनले इरानी जनता अमेरिकाको ‘आतंकवादको सिकार’ भएको दाबी गर्दै इरान वार्ता र कूटनीतिका लागि तयार रहेको तर बल प्रयोगको दबाब स्वीकार नगर्ने बताएका छन्।
करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गरेका पेजेस्कियानले दिवंगत सर्वोच्च नेता अली खामेनी र युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गरेका थिए। उनले इरानले आफ्नो रक्षामात्र गरेको दाबी गर्दै आफूहरू आतंकवादी नभएको बताएका छन्।
उनको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग सम्झौता नभए इरानलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिएको पृष्ठभूमिमा भएको हो। पेजेस्कियानले भने वार्ता र कूटनीतिक समाधानका लागि इरान तयार रहेको तर बल प्रयोगको भाषामा सम्झौता नगर्ने बताएका छन्।
यसैबीच, अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर दुवै पक्षबाट फरक–फरक धारणा सार्वजनिक भएका छन्। अमेरिकी अधिकारीहरूले इरानको आणविक कार्यक्रमलगायत विषयमा परिवर्तन आवश्यक रहेको बताइरहेका छन् भने तेहरानले वार्ताको सम्भावना खुला राखेको जनाएको छ।
उता, हर्मुज जलघाँटीमा बुधबार एउटा कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकाय (UKMTO) ले जनाएको छ। घटनापछि जहाजमा आगलागी भएको र चालकदललाई बाहिर निकालिएको थियो। दुई जनाको हताहती भएको विवरण सार्वजनिक भएको छ।
युद्धका कारण हर्मुज जलघाँटीमा व्यावसायिक पानीजहाजको आवागमन प्रभावित भइरहेका बेला पछिल्लो घटनाले उक्त महत्त्वपूर्ण जलमार्गको सुरक्षा चिन्ता थप बढाएको छ।





प्रतिकृया दिनुहोस