एआई जोखिममा अमेरिका–चीनबीच नयाँ संवाद संयन्त्रको तयारी
अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षासँग जोडिएका चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल अघि बढाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने अपेक्षा गरिएको शिखर बैठकअघि दुवै देशका आर्थिक अधिकारीबीच न्युयोर्कमा भएको वार्तामा एआईसम्बन्धी संवाद संयन्त्र निर्माणको प्रस्ताव अघि सारिएको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो। वार्तापछि बेसेन्टले व्यापार तथा एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताएका छन्।
उनका अनुसार प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’ मार्फत एआईसँग सम्बन्धित सम्भावित घटना तथा राष्ट्रिय सुरक्षासम्म प्रभाव पार्न सक्ने जोखिमबारे दुवै देशले एकअर्कालाई जानकारी गराउने संयन्त्र निर्माण गर्ने विषयमा छलफल भएको छ। यस विषयमा थप वार्ता गर्न दुवै पक्ष सहमत भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भने न्युयोर्कमा भएको वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भनेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बैठकमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन, यसअघि भएका सहमतिको कार्यान्वयनलगायत विषयमा छलफल भएको थियो। बैठकमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङ पनि सहभागी थिए।
वार्ताका क्रममा केही वस्तुमा पारस्परिक शुल्क घटाउने तथा ‘गैर–संवेदनशील’ वस्तुलाई व्यापारसम्बन्धी प्रतिबन्धबाट अलग राख्ने विषयमा समेत छलफल भएको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन्।
दुर्लभ पृथ्वीका चुम्बक तथा महत्वपूर्ण खनिजको आपूर्ति निरन्तर कायम राख्ने विषय पनि अमेरिकी पक्षको प्राथमिकतामा रहेको बताइएको छ। यसअघि चीनले अमेरिकी कृषि सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसको कार्यान्वयन तथा इरानमाथि अमेरिकाले लगाएको आर्थिक दबाबलगायत विषय पनि आगामी वार्तामा उठ्न सक्ने बताइएको छ।
यसैबीच, अमेरिकी पूर्व उपसचिव कर्ट क्याम्पबेलले ट्रम्प–सी शिखर बैठकबाट तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा दुई देशबीच कायम व्यापार युद्धविरामलाई निरन्तरता दिने विषयमा ध्यान दिनुपर्ने बताएका छन्।
ट्रम्प र सीले आगामी नोभेम्बरमा चीनको शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्च तथा डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस