बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

आज देशभर सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्र तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस