देवघाटका भूमिहीनले वर्षौँपछि पाए लालपुर्जा
तनहुँ । देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीले वर्षौंदेखि प्रतीक्षा गरेको जग्गाधनी प्रमाणपुर्जा बुधबार पाएका छन्। लामो समयदेखि आफूले उपभोग गर्दै आएको जमिनको स्वामित्व कानुनी रूपमा आफ्नो नाममा आएपछि लाभग्राहीको मुहारमा खुसी छाएको छ।
देवघाट गाउँपालिका–१ को कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति तनहुँले भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।
वर्षौंदेखि घर बनाएर बसोबास तथा खेतीपाती गर्दै आए पनि जमिन आफ्नो नाममा नभएकाले उनीहरू स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा थिए। पुर्जा प्राप्त भएपछि आफ्नो बसोबास र भविष्य सुरक्षित भएको अनुभूति उनीहरूले गरेका छन्।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेकी मिनुमाया गुरुङले लामो समयदेखि उपयोग गर्दै आएको जमिनको पुर्जा आफ्नो नाममा आउँदा निकै खुसी लागेको बताइन्। उनका अनुसार वर्षौंदेखि त्यही जमिनमा बसोबास गरे पनि आफ्नो नाममा जग्गा नभएको पीडा थियो।
स्थानीय सुनिता दर्जीले यसअघि पनि पटक–पटक भूमि आयोग गठन भए पनि पुर्जा प्राप्त हुन नसकेको बताउँदै यसपटक भने वर्षौंदेखिको प्रतीक्षा पूरा भएको प्रतिक्रिया दिइन्।
समितिले मिनुमाया गुरुङ, सुशीला गुरुङ, छविलाल गुरुङ, बुद्धबहादुर परियार, सोमबहादुर दमै, सुनिता दर्जी, सुरज दमाईं, एकबहादुर दर्जी, विष्णुबहादुर माझी र होममाया परियारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समिति तनहुँका अध्यक्ष शिवलाल तिवारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवनसिंह गुरुङले लाभग्राहीलाई प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए।
प्रजिअ तिवारीले लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाण पाउन नसकेका नागरिकले अब कानुनी रूपमा आफ्नो जग्गामाथिको अधिकार प्राप्त गरेको बताए। भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि नागरिकको स्वामित्व सुनिश्चित हुनुका साथै सामाजिक तथा आर्थिक सुरक्षामा समेत सहयोग पुग्ने बताए।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वर्षौंदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए। बाँकी रहेका भूमिहीन परिवारलाई पनि क्रमशः प्रक्रियामा समेटिने उनले जानकारी दिए।
जिल्ला भूमि समस्या समाधान समितिले गत भदौ २५ गते देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा सुकुम्वासीका लागि जग्गा दर्ता गर्न निवेदन आह्वान गर्दै सातदिने सूचना जारी गरेको थियो। सोही प्रक्रियाका आधारमा आवश्यक प्रक्रिया पूरा गरी लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
प्रजिअ तिवारीका अनुसार विद्यमान कार्यविधिअनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई उनीहरूले हाल उपभोग गर्दै आएको जग्गामध्ये पहाडी क्षेत्रमा बढीमा पाँच रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउने प्रावधान रहेको छ।



-29c77ed5-af78-405e-b2e8-0aac03b92385.jpeg)

प्रतिकृया दिनुहोस