भोटेकोशी बाढी राहतमा एनआरएनए स्कटल्यान्डको ५१ लाख रुपैयाँ सहयोग
स्कटल्यान्ड — नेपालमा भोटेकोशी बाढीपछि उत्पन्न विपद्को अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ ९एनआरएनए० स्कटल्यान्ड राज्य समन्वय परिषद्ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
परिषद्ले स्कटल्यान्डमा सञ्चालन गरेको राहत सहयोग अभियानमार्फत संकलित २५ हजार पाउण्ड ९करिब ५१ लाख रुपैयाँ० नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको जनाएको छ।
विपद्को समयमा मातृभूमिलाई सहयोग गर्ने उद्देश्यसहित एनआरएनए स्कटल्यान्डको समन्वयमा सञ्चालन गरिएको अभियानमा स्कटल्यान्डमा रहेका नेपाली तथा गैरनेपाली समुदायसँगै विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका थिए।
परिषद्का कोषाध्यक्ष पदमलाल खरेलका अनुसार विभिन्न व्यक्ति, समुदाय तथा संघसंस्थाबाट प्राप्त सहयोगलाई एकीकृत गरी राहत कोषमा पठाइएको हो। छोटो समयमै उल्लेखनीय रकम संकलन हुनुले विपद्का बेला स्कटल्यान्डस्थित नेपाली समुदायले देखाएको सहकार्य र मानवीय भावनालाई प्रतिबिम्बित गरेको परिषद्ले जनाएको छ।
राहत अभियानसँग सम्बन्धित आर्थिक विवरणलाई पारदर्शी बनाउने प्रतिबद्धतासमेत परिषद्ले जनाएको छ। अभियानमार्फत संकलित रकमको विस्तृत आय–व्यय विवरण र सहयोगदाताहरूको नामावली सार्वजनिक गरिने जनाइएको छ। नेपाल सरकारबाट रकम प्राप्त भएको औपचारिक पुष्टि प्राप्त भएपछि सोसम्बन्धी विवरणसमेत सार्वजनिक गरिने परिषद्ले बताएको छ।
एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष शेरबहादुर केसीले अभियानमा सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा नेपाली र गैरनेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।
“विपद्को घडीमा मातृभूमिका लागि हातेमालो गर्ने सम्पूर्ण सहयोगदाता, संघसंस्था तथा समुदायप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ,” अध्यक्ष केसीले भने, “यो सहयोग सबैको साझा सद्भाव, एकता र मानवीय भावनाको परिणाम हो।”
परिषद्का अनुसार आर्थिक सहयोगमा मात्र सीमित नभई यस अभियानले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी, एकता र मानवीय संवेदनालाई समेत अभिव्यक्त गरेको छ।
एनआरएनए स्कटल्यान्डले अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने, सहयोग संकलनमा खटिने तथा विभिन्न माध्यमबाट साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र नेपाली समुदायको हित तथा मानवीय सेवाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।


-29c77ed5-af78-405e-b2e8-0aac03b92385.jpeg)


प्रतिकृया दिनुहोस