हुप्सेकोटमा जमिनमुनिबाट निस्किएको धुवाँमा कार्बन मोनोअक्साइड पुष्टि
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ पेलेगा क्षेत्रमा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको छ।
खानी तथा भू–गर्भ विभाग, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का विज्ञहरूको संयुक्त टोलीले बुधबार घाँगीभीर क्षेत्रमा स्थलगत अध्ययन तथा नमुना संकलन गरेको थियो।
अनुसन्धान टोलीका प्रमुख भू–गर्भविद् प्रकाश लुइँटेलका अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज हावा र पानीको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाका कारण ग्यास तथा ताप उत्पन्न भएको देखिएको छ। यही प्रक्रियाबाट चट्टानमा रहेको कार्बनसँग प्रतिक्रिया हुँदा कार्बन मोनोअक्साइड ग्यास निस्किएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक निष्कर्ष छ।
लुइँटेलले उक्त क्षेत्रमा ज्वालामुखीको सम्भावना नरहेको स्पष्ट पार्दै स्थानीयलाई नआत्तिन आग्रह गरेका छन्। यद्यपि, धुवाँ निस्किरहेको स्थानमा जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउन उनले सुझाव दिएका छन्।
विज्ञहरूका अनुसार कार्बन मोनोअक्साइड स्वास्थ्यका लागि अत्यन्त विषाक्त ग्यास हो। यसको सम्पर्कमा आउँदा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने तथा गम्भीर अवस्थामा बेहोस भएर ज्यानसमेत जान सक्ने जोखिम हुन्छ। त्यसैले धुवाँ निस्किएको स्थान नजिक नजान र ग्यास नसुँघ्न विज्ञहरूले आग्रह गरेका छन्।
धुवाँ निस्किएको स्थानमुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा बढी पाइएको जनाइएको छ। त्यसैले उक्त पानी नपिउन तथा अन्य प्रयोजनमा समेत प्रयोग नगर्न चेतावनी दिइएको छ।
स्थानीयवासीका अनुसार चैतदेखि सामान्य रूपमा देखिएको धुवाँ वर्षायाम सुरु भएपछि बढेको हो। धुवाँका कारण आँखा पोल्ने तथा बिरामी हुने समस्या बढेको र खोलाको पानीको स्वादसमेत नुनिलो भएको स्थानीय केशबहादुर सोमैले बताएका छन्। खेतीबालीमा समेत असर पर्ने हो कि भन्ने चिन्ता स्थानीयमा छ।
अनुसन्धान टोलीले माटो, ढुंगा, पानी, धुवाँ र वनस्पतिलगायतका नमुना संकलन गरेको छ। नमुनाको प्रयोगशाला परीक्षणपछि घटनाको विस्तृत कारण र अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरिने भू–गर्भविद् लुइँटेलले जानकारी दिएका छन्।
स्थानीय प्रशासन तथा विज्ञहरूले सामाजिक सञ्जालका लागि रिल वा भिडियो बनाउने क्रममा समेत जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन्। पेलेगा क्षेत्रमै नेपाल सरकारको गौरवको आयोजनाका रूपमा रहेको धौवादी फलाम खानीसमेत रहेको छ।





प्रतिकृया दिनुहोस