उपत्यकामा ग्यास आजदेखि पुरानै मूल्यमा

काठमाडौँ उपत्यकामा बिहीबारदेखि एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै पाइने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा रोकिएको ग्यास बुलेटको आवागमन पुनः सुरु भएपछि पुरानै मूल्यमा ग्यास बिक्री गर्न लागिएको हो।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले बिहीबारदेखि आपूर्ति सहज हुने बताए।

भदौ १४ गते कृष्णभीरमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेट काठमाडौं आउन सकेका थिएनन्। त्यसपछि वैकल्पिक मार्गबाट साना सवारीसाधनमा ग्यास ल्याउँदा ढुवानी खर्च बढेको भन्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको थियो।

नेपाल आयल निगमका अनुसार कृष्णभीरबाट मंगलबार ६ र बुधबार २५ वटा ग्यास बुलेट काठमाडौं प्रवेश गरेका छन्। एउटा बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउने गर्छ।

काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भएकाले बुलेटको आवागमन नियमित भएसँगै अभाव पनि कम हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस