प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो १२ अर्ब ४३ करोड रुपैयाँ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार कोषको विभिन्न नौवटा बैंक खातामा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ उपलब्ध रहेको कार्यालयले जनाएको छ।

विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।

यसअघि केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा खर्च गर्न कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।
 

प्रतिकृया दिनुहोस