प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात
काठमाडौं । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले गरेको आह्वानसँगै स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ जम्मा रहेको छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
यसअघि बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, संस्था तथा स्वदेश र विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।
सरकारले कोषमा संकलित रकमलाई बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा आवश्यक व्यवस्थापनमा उपयोग गर्ने जनाएको छ।





प्रतिकृया दिनुहोस