अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य
आगामी साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालक समितिको जेठ १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागेको सूचना जारी गरेको हो ।
पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन यो कदम चालिएको कम्पनीको भनाइ छ । नियम नयाँ खातामा मात्र सीमित छैन । यसअघि खोलिएका डिम्याट खाताको ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैले साउन कुर्नुअघि नै राष्ट्रिय परिचय नम्बर लिएर आवश्यक विवरण अद्यावधिक गरिसक्न सिडिएसले लगानीकर्तालाई आग्रह गरेको छ । व्यवस्थाको कारण डिम्याट खाताकै बढ्दो संख्यासँग जोडिएको छ । पछिल्ला वर्षमा खाता संख्या उल्लेख्य रूपमा बढेसँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्ने तथा दोहोरो खाता र त्रुटिपूर्ण विवरण नियन्त्रण गर्ने उद्देश्यले राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको सिडिएसले जनाएको छ ।
डिम्याट खाता, मेरो सेयर र अनलाइन कारोबारमा आबद्ध लगानीकर्ता लगातार बढिरहेका बेला यकिन पहिचानको आधार राष्ट्रिय परिचय नम्बरलाई बनाउने नीति अघि सारिएको हो । यो व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापन थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानी सुदृढ हुने अपेक्षा गरिएको सिडिएसको भनाइ छ ।





प्रतिकृया दिनुहोस