भोटेकोशी बाढीमा भरतपुरका ७ जना बेपत्ता, दाबी विरोध गर्न तीन दिनको म्याद
भरतपुर महानगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका महानगरका ७ जना बासिन्दाको नामावली सार्वजनिक गरेको छ। महानगरपालिकाले सोमबार सूचना जारी गर्दै विवरणमाथि कुनै त्रुटि वा हकदाबी भए तीन दिनभित्र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो।
महानगरपालिकाले सार्वजनिक गरेको सूचीमा भरतपुर–५ का ४० वर्षीय महेश नेपाली र ६२ वर्षीय राजु चापागाई, भरतपुर–६ का ५१ वर्षीय विश्वनाथ पौडेल, भरतपुर–४ का ५१ वर्षीय राजकुमार पुलामी मगर, भरतपुर–८ का ४४ वर्षीय इन्द्र अधिकारी, भरतपुर–१४ का ३७ वर्षीय विक्रम उपाध्याय र भरतपुर–१ की ३१ वर्षीया रविना तुल्सीबाख्यो रहेका छन्।
महानगरपालिकाका अनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका तथा भरतपुर महानगरभित्र स्थायी ठेगाना भएका व्यक्तिहरूको विवरण सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा तयार गरिएको हो। हाल स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त विवरणको जाँचबुझ र प्रमाणीकरण गरिरहेको छ।
तीन दिनभित्र दाबी विरोध गर्न सकिने
महानगरपालिकाले सार्वजनिक सूचीमा नाम, थर, ठेगाना वा अन्य विवरण गलत भएमा अथवा कसैको हकदाबी, विरोध वा उजुरी भएमा सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक प्रमाण र कागजातसहित लिखित निवेदन दिन आग्रह गरेको छ।
तोकिएको समयभित्र कुनै दाबी विरोध नआएमा वा प्राप्त उजुरीमाथि जाँचबुझ गरेपछि बेपत्ता व्यक्तिहरूको अन्तिम विवरण तयार गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने महानगरपालिकाले जनाएको छ।






प्रतिकृया दिनुहोस