चितवनमा ३ हजार २८२ जनाको निःशुल्क आँखा परीक्षण
चितवनमा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरबाट ३ हजार २८२ जना लाभान्वित भएका छन्। नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्रले शिविर आयोजना गरेका हुन्।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मंसिर १ देखि ५ गतेसम्म जिल्लाका आठ स्थानमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा परीक्षण गराएकामध्ये ३०३ जनामा मोतियाबिन्दु पहिचान भएको थियो। उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
त्यस्तै, शिविरबाट एक हजार ६९० जनालाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको घिमिरेले जानकारी दिए।
आइक्याम्पफोर चितवनका संयोजक राजबन्धु गौतमका अनुसार माडीको थारू संग्रहालय, मेघौलीस्थित क्लिनिक नेपाल, कालिकाका शक्तिखोर र सिद्धि स्वास्थ्य चौकी, खैरहनीको कठार स्वास्थ्य चौकी, इच्छाकामनाको स्याङ्दीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, राप्तीको थाकलटार माध्यमिक विद्यालय र रत्ननगरस्थित सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्रमा शिविर सञ्चालन गरिएको थियो।
आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गौतमले बताए।
आइक्याम्पफोरले विगत नौ वर्षदेखि हरेक वर्ष निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रका नागरिकलाई आँखा उपचारमा सहज पहुँच पुर्याउन संस्थाले आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।





प्रतिकृया दिनुहोस