चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो निउरो टिप्न गएका भरतपुर–२७ निवासी ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो। उनी अन्य तीन जनासँगै निउरो टिप्न गएका थिए।
घटनाबारे उनीसँगै गएका साथीहरूले मंगलबार साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजीकार्य सुरु गरिएको थियो। खोजतलासका क्रममा बुधबार बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस