भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित
भरतपुर महानगरपालिकाले संस्थागत (निजी) विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित गरेको छ ।
सोमबार बिहान बसेको महानगरपालिकाको कार्यपालिका बैठकले शुल्क वृद्धि स्थगित गर्दै थप अध्ययनपछि पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
महानगरका कार्यकारी अधिकृत वीरेन्द्र देव भारतीका अनुसार बढाइएको शुल्क फिर्ता नभई तत्कालका लागि मात्र स्थगित गरिएको हो । शुल्क समायोजनका लागि नगर शिक्षा समितिलाई जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।
नगर प्रमुखको संयोजकत्वमा रहने समितिले कक्षा ११ र १२ सहितका कक्षाको शुल्कबारे अभिभावक, विद्यार्थी, निजी विद्यालयका प्रतिनिधि, जनप्रतिनिधि तथा शिक्षा विज्ञसँग छलफल गरी आवश्यक निर्णय गर्नेछ ।
यसअघि महानगरपालिकाले संस्थागत विद्यालयलाई कक्षाअनुसार २१ देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्वीकृति दिएको थियो । उक्त निर्णयको विद्यार्थी संगठन तथा राजनीतिक दलहरूले विरोध गर्दै आएका थिए ।
शैक्षिक सत्रको बीचमा शुल्क वृद्धि गरिएको र संघीय शिक्षा नियमावलीले तोकेको प्रक्रिया पालना नभएको भन्दै विरोध भएको हो ।
भरतपुर महानगरपालिकाभित्र हाल ९७ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । यसअघि २०७९ साल असोजमा निजी विद्यालयको शुल्क वृद्धि गरिएको थियो ।





प्रतिकृया दिनुहोस