व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक गरिने

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण प्रयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ। यसका लागि निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको छ।

समझदारीपत्रमा आयोगका तर्फबाट सहसचिव राजेन्द्रकुमार केसी र विभागका महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गरिनेछ।

यसका लागि विभागले आफ्नो सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ। आयोगले ती विवरण मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरणका लागि प्रयोग गर्नेछ।

विवरणको सुरक्षित आदानप्रदान र उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्नुका साथै तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गरिने समझदारीमा उल्लेख छ। साथै, कार्यान्वयनका क्रममा देखिने प्राविधिक समस्या समाधान गर्न दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ।

यस व्यवस्थाले व्यक्तिगत घटना दर्ता प्रणालीमा उपलब्ध विवरणको उपयोगमार्फत मतदाता नामावलीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

यसबाट मतदाता नामावलीमा शुद्धता कायम गर्न तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

प्रतिकृया दिनुहोस
↑