नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न प्रमुख नदीमा जलसतह बढ्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वसूचना जारी गर्दै नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
यी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार नारायणी, कोशी र तिनका शाखा नदीका साथै बागमती, कमला र कन्काई जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। यसका कारण नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। यद्यपि, महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य मात्र बढ्ने सम्भावना छ।
शनिबार पनि कोशी, बागमती, कमला र कन्काई जलाधार क्षेत्रमा हल्कादेखि मध्यम वर्षा जारी रहने पूर्वानुमान छ। पछिल्लो तीन दिनको वर्षाका कारण यी नदीहरूको जलसतह उच्च बिन्दुमा पुग्न सक्ने भए पनि प्रमुख नदीहरूमा सतर्कता तह पार हुने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र समग्र बाढीको जोखिम न्यून रहने अनुमान छ। आगामी कात्तिक १६ र १७ गतेसम्म देशभरका प्रमुख नदीहरूको जलसतह क्रमशः सामान्य अवस्थामा फर्किने महाशाखाको प्रक्षेपण छ।
महाशाखाले वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने भन्दै उच्च हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको प्रभावले कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिमसमेत रहेको जनाएको छ।
शुक्रबार र शनिबार नारायणी, बागमती, कमला, कन्काई र कोशी जलाधारका पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने र होचा भूभागमा डुबान हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, हाल देशभर सामान्यतया बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि वर्षा भइरहेको छ। शुक्रबार अपराह्नदेखि भने चक्रवातको प्रभाव क्रमशः कम हुँदै जाने बताइएको छ।





प्रतिकृया दिनुहोस