विदेश फर्किनुअघि श्रम स्वीकृति लिन विभागको आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि विदेश गएर बिदामा नेपाल आएका श्रमिकलाई फर्किने क्रममा हवाई टिकट लिनुअघि नै पुनः श्रम स्वीकृति लिन आग्रह गरेको छ।

विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था आउन नदिन समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।

विभागका अनुसार हवाई टिकट लिइसकेका श्रमिकले समेत श्रम स्वीकृति नहुँदा उडान छुट्ने समस्या भोग्नुपर्ने हुन सक्छ। त्यसैले विदेश फर्किने उडानभन्दा कम्तीमा तीन दिनअघि आवश्यक कागजातसहित अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन विभागले आग्रह गरेको छ।

त्यस्तै, पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएपछि प्रक्रियामा कुनै समस्या आए तत्काल समाधानका लागि विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ। श्रमिकले ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाएर सम्पर्क गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस
↑