आइसिसी विश्वकप छनोट प्लेअफ नेपालमा हुने

आगामी सन् २०२६ को डिसेम्बरमा नेपालले ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता सन् २०२६ डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

यस प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहने क्यानले जनाएको छ। जसमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहने चार टोली तथा आइसिसी पुरुष विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ बाट शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली समावेश हुनेछन्।

यस प्ले–अफ प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हात पार्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

विश्वकप क्वालिफायर प्ले–अफ प्रतियोगिता नेपालमै आयोजना हुने भएपछि यसअघि तय गरिएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला प्रभावित भएको छ।

पहिले डिसेम्बर ९, ११ र १३ तारिखका लागि तय गरिएको उक्त शृङ्खलाको नयाँ मिति र तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड र क्यानबीच आपसी छलफल तथा समन्वयपश्चात् छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस
↑