ओमानलाई १० रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। सोमबार ओमानको अल अमेरातस्थित मिनिस्ट्री टर्फ–१ क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा जित निकाल्दै नेपालले लिग–२ को शीर्ष ६ मा स्थान सुरक्षित गरेको हो।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रनको योगदान दिए। त्यस्तै, हसनैन शाहले २३ बलमा अविजित ४० रन बनाए पनि ओमानलाई जित दिलाउन सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान २ विकेट लिए। नन्दन यादव र सन्दीप लामिछानेले समान १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो। नेपालका लागि पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा उक्त रन जोडे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन र देव खनालले ६५ बलमा ५७ रन बनाए। ईशान पाण्डेले २९ रन तथा बसिर अहमदले ७ बलमा आक्रामक १७ रनको योगदान दिए।
ओमानका शाह फैजलले ५ विकेट लिए भने जय ओडेड्राले ३ विकेट हात पारे। नेपालले बनाएको २८० रनको योगफल रक्षा गर्दै अन्ततः १० रनको महत्वपूर्ण जित निकाल्न सफल भयो।
विश्वकप लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने प्रावधानअनुसार नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा रहेर आफ्नो मान्यता जोगाएको हो। नेपाल छैटौँ स्थानमा उक्लिएसँगै ३६ खेलबाट २९ अंक जोडेको क्यानडा सातौँ स्थानमा झरेको छ।
तालिकाको शीर्ष स्थानमा अमेरिका रहेको छ। अमेरिकाले ३६ खेलबाट ४९ अंक जोडेको छ। ३६ खेलबाट ४५ अंकसहित स्कटल्यान्ड दोस्रो र ३२ खेलबाट ३८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्। ओमान ३२ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ भने समान ३३ अंक जोडेको नामिबियाले ३६ खेल खेलेको छ।
सातौँ स्थानमा रहेको क्यानडा र आठौँ स्थानमा रहेको यूएईले एकदिवसीय मान्यता जोगाउन आईसीसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यूएईले ३२ खेलबाट १९ अंक जोडेको छ।
ओमानविरुद्धको जितसँगै नेपालले लिग–२ अभियान छैटौँ स्थानमा रहेर टुंग्याएको छ। अन्तिम खेलमा हासिल गरेको यस जितले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने लक्ष्य पूरा भएको छ।





प्रतिकृया दिनुहोस