आज दोस्रो दिन पनि मान्यजनबाट दशैँ टीका–जमरा ग्रहण गरिँदै
बडादशैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।
नेपालका केही स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश क्षेत्रमा भने दसैँको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म कायम रहने गरेको छ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।





प्रतिकृया दिनुहोस