इन्जिनियरिङसँगै पशुपालन, मासिक १५ लाख बचत
मेहनत र लगनशीलताका साथ व्यवसाय गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । उनले काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाईभैँसीपालन गरेर मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालि स्थापना गरी पशुपालन व्यवसाय सुरु गरेका हुन् । उनका अनुसार करिब १० करोड रुपैयाँ लगानीमा सञ्चालित फार्मका लागि मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी छ रोपनी जग्गा लिइएको छ ।
सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थालेका लामिछानेको फार्ममा अहिले २०० वटा गाई र ५० वटा भैँसी छन् । “इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें । सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाईभैँसीपालन व्यवसाय पनि गर्दै आएको छु । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ”, उनले भने ।
लामिछानेको फार्ममा हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुग्ध विकास संस्थान (डीडीसी) र नमुना डेरीमा बिक्री हुने गरेको छ भने बाँकी उपत्यकाका विभिन्न डेरीमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए ।
उनका अनुसार हाल भैँसीको दूध प्रतिलिटर १७० रुपैयाँ र गाईको दूध प्रतिलिटर १०० रुपैयाँमा बिक्री हुँदै आएको छ । गाई र भैँसीको दूध दुहुन फार्ममा मेसिनसमेत जडान गरिएको छ ।
फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० जना कार्यरत छन् । दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको लामिछानेले बताए ।
त्यसबाट सञ्चालन खर्च कटाउँदा मासिक करिब १५ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ । गाईभैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनले बताए ।





प्रतिकृया दिनुहोस