विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंश र पहिरोबाट बढी क्षति
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सर्पदंशका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ। उक्त तथ्यांकमा भोटेकोशी र बूढीगण्डकी बाढीबाट भएको क्षति समावेश छैन।
प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर ७ हजार ४३९ वटा विपद्का घटना भएका छन्। ती घटनामा २ हजार ४३३ जना घाइते भएका छन् भने १४ जना बेपत्ता छन्। विपद्का कारण ९ हजार ५२५ परिवार प्रभावित भएका छन्।
यस अवधिमा सर्पदंशका १ हजार ६२२ घटना भएका छन्। सर्पको टोकाइबाट ११० जनाको मृत्यु भएको छ भने १ हजार ५२५ जना घाइते भएका छन्। सर्पदंशका घटनाबाट १ हजार ६२७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
पहिरोबाट ७६ र बाढीबाट ४१ जनाको मृत्यु
सर्पदंशपछि पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ। वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर पहिरोका १ हजार ७०९ घटना भएका छन्। पहिरोमा परी ७६ जनाको मृत्यु, तीन जना बेपत्ता र ७५ जना घाइते भएका छन्। पहिरोका कारण १ हजार ४२६ परिवार प्रभावित भएका छन्।
त्यस्तै, बाढीका ४६० घटनामा ४१ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। बाढीका कारण १ हजार ३४८ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार चट्याङका ३३३ घटनामा ३६ जनाको मृत्यु र २०४ जना घाइते भएका छन्। चट्याङबाट ४०३ परिवार प्रभावित भएका छन्।
आगलागीमा २९ जनाको ज्यान गयो
यस अवधिमा देशभर आगलागीका १ हजार ५०७ घटना भएका छन्। ती घटनामा २९ जनाको मृत्यु र २१९ जना घाइते भएका छन् भने १ हजार ६३९ परिवार प्रभावित भएका छन्।
लेक लाग्ने ७२ घटनामा २६ जनाको मृत्यु र ४८ जना घाइते भएका छन्। मानव–वन्यजन्तु द्वन्द्वअन्तर्गत जनावरको आक्रमणका ३९८ घटनामा २१ जनाको मृत्यु र २४१ जना घाइते भएका छन्।
त्यसैगरी, हिमपहिरोका छ घटनामा १९ जनाको मृत्यु र एक जना घाइते भएका छन्। हावाहुरीका ५३७ घटनामा १६ जनाको मृत्यु भएको छ भने १ हजार ४९५ परिवार प्रभावित भएका छन्। भारी वर्षाका ५८४ घटनामा सात जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा विपद्बाट एक जनाको मृत्यु
प्राधिकरणका अनुसार कात्तिक २ गते बिहान १० बजेदेखि कात्तिक ३ गते बिहान १० बजेसम्म देशका २१ जिल्लामा २४ वटा विपद्का घटना भएका छन्।
उक्त अवधिमा आगलागीका १८ घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पाँच जिल्लामा भएका सर्पदंशका पाँच घटनामा नौ जना घाइते भएका छन्। त्यस्तै, जनावरको आक्रमणबाट एक जना घाइते भएका छन्।
पछिल्लो २४ घण्टामा विपद्का कारण करिब १८ लाख २ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। यस अवधिमा १६ वटा चौपाया मरेका वा क्षति पुगेको प्राधिकरणले जनाएको छ। उद्धार तथा राहत कार्यका लागि १४१ जना प्रहरी परिचालन गरिएको थियो।
प्राधिकरणले मौसम परिवर्तनसँगै आगलागी र चिसोबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, विपद्सम्बन्धी पूर्वसूचना तथा आवश्यक जानकारीका लागि आधिकारिक माध्यम प्रयोग गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।





प्रतिकृया दिनुहोस