बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा अवतरण
बम राखिएको धम्की आएपछि इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियनातर्फ जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ।
आइतबार राति तेल अभिभबाट उडेको एयरबस ए३२० विमानलाई बुल्गेरियाको राजधानी सोफियास्थित विमानस्थलमा अवतरण गराइएको हो। बुल्गेरियाको यातायात मन्त्रालयका अनुसार विमान अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
विमानको सुरक्षाका लागि बुल्गेरियाली वायुसेनाले मिग–२९ लडाकु विमानसमेत परिचालन गरेको थियो। घटनामा कोही घाइते भएको खबर छैन। घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।
बुल्गेरिया र इजरायलका सञ्चारमाध्यमका अनुसार विमानमा बम राखिएको धम्की आएको थियो। अस्ट्रियन एयरलाइन्सले पनि धम्की प्राप्त भएको पुष्टि गरेको छ। अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई खतराबारे जानकारी दिएका थिए। ती व्यक्ति भने उक्त विमानमा सवार थिएनन्।
समाचार एजेन्सी एएफपीका अनुसार विमानमा ५१ जना यात्रु र चालक दलका छ जना सदस्य थिए। धम्कीको सूचना प्राप्त भएको करिब ३० मिनेटपछि विमान सोफियामा अवतरण गरिएको थियो।
उडानसम्बन्धी तथ्याङ्कअनुसार विमान तेल अभिभस्थित बेन गुरियन विमानस्थलबाट उडेको करिब तीन घण्टापछि सोफियास्थित भासिल लेभ्स्की विमानस्थलमा पुगेको थियो। विमानबाट सबैलाई बाहिर निकालिएपछि विशेषज्ञहरूले सुरक्षा जाँच थालेका थिए।
यसअघि गत महिना पनि तेल अभिभतर्फ जाँदै गरेको फ्लाइदुबईको विमानमा अपहरणको प्रयास भएको थियो। विमानका पाइलटमाथि आक्रमण गरेका एक व्यक्तिलाई चालक दल र यात्रुले नियन्त्रणमा लिएका थिए। त्यसपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो।
त्यस्तै, गत साता ग्रिसको कोर्फु टापुबाट जर्मनीको न्युरेम्बर्गतर्फ जाँदै गरेको व्यावसायिक विमानबाट गल्तीवश अपहरणसम्बन्धी आपत्कालीन सङ्केत जारी भएपछि क्रोएसिया र जर्मनीले पनि लडाकु विमान परिचालन गरेका थिए।





प्रतिकृया दिनुहोस