नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने

नारायणगढमा आगामी कात्तिक १४ गते पाँच किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता आयोजना हुने भएको छ। स्वास्थ्य र खेलकुदको प्रवर्द्धन गर्दै युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले राइनो क्लब नारायणगढले प्रतियोगिता आयोजना गर्न लागेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित हुने प्रतियोगिता बिहान ८ बजे गैंडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुनेछ। कार्यक्रम संयोजक महेश प्रधानका अनुसार प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिक सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन दुई सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, निर्धारित ३० मिनेटभित्र दौड पूरा गर्ने ५० वर्षमाथिका भेट्रान धावकलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागीको सुरक्षाका लागि एम्बुलेन्स, प्राथमिक उपचार र स्वयंसेवकको व्यवस्था गरिने कार्यक्रम सहसंयोजक रोहितकुमार श्रेष्ठले बताए। दौड मार्गमा यातायात व्यवस्थापनका लागि प्रहरी तथा स्थानीय निकायसँग समन्वय गरिने उनले जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक १ गतेदेखि १२ गते अपराह्न ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। नारायणगढस्थित श्रीया कोल्ड स्टोर, क्षेत्रपुरको राइनो फिटनेस सेन्टर र लायन्सचोकस्थित शुभ पेट्रोलपम्पमा सम्पर्क गरी दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

क्लबले २०३७ सालदेखि आयोजना गर्दै आएको राइनो दौड बीचमा रोकिएको थियो। लामो समयपछि पुनः सञ्चालन गर्न लागिएको प्रतियोगिताले युवामा स्वास्थ्य सचेतना, अनुशासन र खेलकुद भावना विकास गर्नुका साथै सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतिकृया दिनुहोस
↑