वेस्ट इन्डिजका आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।

विराटनगर किङ्सले आइतबार भिडियो सार्वजनिक गर्दै रसेललाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो। रसेलको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।

वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका रसेल टी–२० क्रिकेटका चर्चित खेलाडी हुन्। उनले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्।

विश्वभरका विभिन्न टी–२० लिगमा उच्च माग भएका रसेल लामो समयदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) को कोलकाता नाइट राइडर्सका महत्त्वपूर्ण खेलाडी रहँदै आएका छन्। आक्रामक ब्याटिङ र शक्तिशाली प्रहारका कारण उनले टोलीलाई कठिन परिस्थितिमा समेत जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र बिग ब्यास लिग (बीबीएल) लगायतका चर्चित टी–२० प्रतियोगितामा पनि खेलिसकेका छन्।

आक्रामक ब्याटिङ, पावर हिटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको अनुबन्धले एनपीएलको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
↑