इरान–पाकिस्तान सीमा बन्द, व्यापार ठप्प
प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा बन्द गरिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाका पुनः सञ्चालनमा ल्याउन छलफलमा जुटेका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार प्राविधिक समस्या र आवश्यक सुरक्षा सावधानीका कारण सीमापार आवागमन रोकिएको जानकारी दिएका हुन्। इरानी समाचार संस्था इरनाका अनुसार दुवै देशका सम्बन्धित अधिकारीहरू समस्या समाधान गर्न सक्रिय छन्।
यसैबीच, पाकिस्तानले शुक्रबारदेखि गब्द–रिमदान र तफ्तानका आधिकारिक सीमा नाकाबाट हुने व्यापार रोकेको छ। पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको पुरानो आदेश खारेज गर्दै नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो।
बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय सुरक्षा अवस्था सुधार गर्न र प्रशासनिक समस्या समाधान गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू बाँकी प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन्। सीमा व्यवस्थापन प्रभावकारी बनाउनुका साथै अवैध तस्करी नियन्त्रण गर्न समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको छ।
उनले जारी छलफल र हालसम्मको प्रगतिका आधारमा पाकिस्तान–इरान सीमा नाका चाँडै पुनः सञ्चालनमा आउन सक्ने आशा व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस