भारतीय प्रियागोल्ड बिस्कुटको आयात र बिक्री गर्न नेपालमा रोक

सरकारले भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको नेपालमा आयात, प्रवेश अनुमति तथा बिक्री वितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजारमा बिक्रीका लागि पठाइसकिएका बिस्कुटसमेत फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले आइतबार जारी गरेको सूचनामार्फत सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतद्वारा उत्पादित उक्त ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति स्थगन गर्दै अर्को आदेश नभएसम्म बिक्री वितरण नगर्न सम्बन्धित आयातकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको छ ।

विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले अक्टोबर १७, २०२६ मा जारी गरेको सूचनाका आधारमा नेपालमा पनि प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो ।

भारतीय नियामक निकायले कम्पनीको कारखाना निरीक्षण गर्दा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादन प्रक्रिया तथा सरसफाइसम्बन्धी मापदण्डमा गम्भीर कमजोरी फेला पारेको जनाइएको छ । निरीक्षणका क्रममा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने चोकरलाई बिस्कुटमा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको थियो ।

उक्त चोकर राखिएका जुटका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको जनाइएको छ । यसका साथै कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा उत्पादनस्थलको मर्मतसम्भारमा समेत कमजोरी भेटिएको विभागले जनाएको छ ।

यी कमजोरीपछि भारतीय नियामक निकायले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरी थप कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।

विभागको उच्च व्यवस्थापन समूह तथा उत्पादन फिर्ता प्राविधिक समितिको संयुक्त बैठकको सिफारिसका आधारमा नेपालमा पनि उक्त बिस्कुटको आयात, नाकाबाट प्रवेश अनुमति र बिक्री वितरण रोक्ने निर्णय गरिएको हो ।

विभागले सबै उत्पादन ब्याच र उत्पादन मिति भएका प्रियागोल्ड बिस्कुटको बिक्री तत्काल रोक्न तथा बजारमा रहेका उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ । फिर्ता गरिएका बिस्कुटको सङ्कलन, अभिलेखीकरण र व्यवस्थापनसमेत व्यवस्थित रूपमा गर्नुपर्नेछ ।

फिर्ता गरिएका बिस्कुट नष्ट गर्दा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागका प्राविधिक कर्मचारीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने विभागले जनाएको छ ।

निर्देशनको अवज्ञा गरी प्रतिबन्धित बिस्कुट बिक्री वितरण गर्ने वा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

विभागको निर्णयसँगै आयातकर्ता, थोक तथा खुद्रा विक्रेताले आफ्नो मौज्दात जाँच गरी उक्त ब्रान्डका बिस्कुट बिक्रीबाट हटाउनुपर्ने भएको छ । उपभोक्तालाई पनि घरमा रहेका प्रियागोल्ड बिस्कुट तत्काल उपभोग नगर्न र थप जानकारीका लागि सम्बन्धित विक्रेता वा आधिकारिक निकायसँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस
↑