आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

तनहुँ ।आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ।

गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्रयाक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ। यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट्रयाक खोलिएको छ।

खानेपानीतर्फ ८ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चारवटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिए। गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ।

सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ। यस अवधिमा दुईवटा नयाँ भवन निर्माण र सातवटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

पाँच ठूला आयोजना प्राथमिकतामा
गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँचवटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ। लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ। खानीखोला–रिङरोड आयोजनाअन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ।

यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ। रासस

प्रतिकृया दिनुहोस
↑