भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम अब कात्तिक १७ र १८ मा
दसैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति सरेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँको बिदा परेकाले कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागिएको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको औषधि खुवाउने केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य समस्याको जोखिम कम गर्न सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।





प्रतिकृया दिनुहोस